काठमाडौं । क्यान्सर रोग लागेका कारण काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । गणतन्त्रका सेनानीका रुपमासमेत चिनिने उनको शुक्रबार बिहान निधन भएको हो ।रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार र सिंहदरबार अगाडि बम विस्फोट गराएको थियो । भट्ट त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।
२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेतामध्ये एक हुन् ।
उनी २०५८ सालमा गठित शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनका क्रममा उनी पटकपटक जेलसमेत परेका थिए । उनी २०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
सुरुमा कांग्रेस पृष्ठभूमिका उनले २०३० सालतिर रामराजाप्रसाद प्रसाद सिंहसँग मिलेर जनवादी मोर्चा निर्माण गरेका थिए । उनी २०५३ सालमा फेरि नेपाली कांग्रेसमै फर्केका थिए । गिरिजाप्रसाद कोइरालाको निधनपछि भने उनी माओवादीमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्