Ads

पाथीभराको ८८ लाख रुपैयाँ भेटी हिनामिना


इलाम । इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाले दावी गरेको छ ।

मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई छानविनका लागि आग्रह गरेपछि छानविन समिति बनेको तर लामो समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ रकम हिनामिना भएको दावी गरेको छ ।

गाउँपालिकाको अध्ययन प्रतिवेदनका अनुसार समितिले आर्थिक वर्ष ०७५÷०७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कूल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९ सय २९ देखिएको उल्लेख छ । जसमध्ये दुई करोड २० लाख ९१ हजार २ सय ४२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा छ । २०७५ असोजदेखि २०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १ सय २४ रकम मौजदात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर उक्त रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख नगरिएकाले पाथीभरा संरक्षण समितिले रकम हिनामिना गरेको गाउँपालिकाको दावी छ ।

जिल्ला प्रशासन कार्यालय इलामले छानविन प्रतिवेदन गुपचुप गरेको आरोप लागेपनि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले यस्तो नभएको बताएका छन्। गाउँपालिकाको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखा परीक्षक प्रज्ज्वल अधिकारी सहभागिता रहेको थियो ।

तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न पोखरेलले आनाकानी गरेको भन्दै गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू