Ads

यातायात व्यवस्थापनका लागि कार्यदल गठन, सडक मर्मतको निर्देशन


काठमाडौ\ चाडपर्व नजिकिएसँगै सरकारले यातायात व्यवस्थापनको तयारी थालेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गरेका छन्।

सरोकारवाला सबै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरेका हुन्।

‘यातायात क्षेत्र चुस्त नहुँदा दसैं, तिहार र छठ जस्ता पर्वहरूमा लाखौं यात्रुहरूले सास्ती पाउँदै आएका छन्। यो वर्ष त्यसलाई व्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौं,’ मन्त्री ज्वालाले भने, ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा व्यवस्थापनको काम थाल्छौं।’ यात्रुहरू ठगिने, बीचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस् भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गरेका हुन्।

मन्त्री ज्वालाले सिंहदरबारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चापागाईं, बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो।

१० लाख बाहिरिने अनुमान

दसैं, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्सेनि १० लाख यात्रुहरू बाहिरिने गरेका छन्। बाहिरिने यात्रुहरूलाई सुरक्षित पुर्‍याउन मन्त्री ज्वालाले पहल थालेका छन्। मन्त्री ज्वालाको प्रस्तावमा यातायात व्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ।

गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि बन्चित हुन नदिने यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।मन्त्री ज्वालाले दसैंको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिएका छन्।

सडक सुधार्न निर्देशन
मन्त्री ज्वालाले ‘वर्षातका कारण सडकहरू बिग्रेकाले त्यसको मर्मत र सुधारका लागि निर्देशन पनि दिएका छन् । मन्त्रीको निर्देशन लगत्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाए । यस्तै ट्राफिक महाशाखाले व्यवस्थापनका लागि आफूहरूले कुनै कसरत बाँकी नराख्ने बताएको छ।

Ads

सम्बन्धित पोष्टहरू