धनुषा । राष्ट्रपति रामचन्द्र पौडेलको आज जनकपुरधामको भ्रमणमा जाँदैछन् । यसकाे सबै तयारी पूरा भएको छ ।राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमणका क्रममा जानकी मन्दिरमा विशेष पूजाअर्चना र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन गर्ने कार्यक्रम रहेको सहरी विकास मन्त्रालयअन्तर्गतका सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय धनुषाका प्रमुख प्रदीप खनालले जानकारी दिए ।
तय भएको कार्यक्रमअनुसार नेपाली सेनाको हवाईजहाजबाट राष्ट्रपति पौडेल काठमाडौँबाट ८ः४० बजे जनकपुर विमानस्थल पुग्नेछन् । उनलाई जनकपुर विमानस्थलमा मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेल विमानस्थलबाट सिधै जानकी मन्दिरका लागि प्रस्थान गर्ने र पूर्वी ढोकाबाट जानकी मन्दिर प्रवेश गर्ने बताइएकाे छ । त्यहाँ जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गर्नेछन् ।आधाघण्टा जानकी मन्दिरमा बिताउँदा राष्ट्रपति पौडेलले सो क्रममा जानकी माताको विशेष पूजाअर्चना, अखण्ड दीप प्रज्वलन गर्नुका साथै सीता माताको माइती घर दर्शन, अखण्ड कीर्तन दर्शन र महन्तको कक्षमा प्रसाद ग्रहण तथा छोटो विश्राम गर्ने कार्यक्रम रहेको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले बताए ।
जानकी मन्दिरमा पूजाअर्चना पश्चात प्रदेश प्रमुख, सभामुखसँग जलपान र नेपाल राष्ट्र बैंकको अतिथि निवासमा विश्राम तथा दिवा खानाको कार्यक्रम रहेको छ । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाका प्रमुख खनालका अनुसार राष्ट्रपति पौडेलले दिउँसो १ बजे महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रम पश्चात सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन समारोहको आयोजना गरिने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल दुवै कार्यक्रम पश्चात अपराह्न ३ बजे काठमाडौँ फर्किनेछन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै उनी जनकपुरधाम जान लागेका हुन् ।
सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा आयोजना हुने कार्यक्रममा प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डल, राष्ट्रपति कार्यालयका सचिव तथा पदाधिकारी, जिल्ला समन्वय समिति धनुषाका पदाधिकारी पालिका प्रमुखको उपस्थिति रहने जनाइएको छ ।
विसं २०५७ मै शिलान्यास भए पनि विभिन्न कारणवश थलिएको उक्त सांस्कृतिक केन्द्र २३ वर्षपछि समुद्घाटन हुने भएपछि जनकपुरधामवासी हर्षित भएका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारको पालामा कांग्रेसका अगुवा नेता स्वर्गीय महेन्द्रनारायण निधिकी धर्मपत्नी प्रेमसागर देवीले उक्त सांस्कृतिक केन्द्रको शिलान्यास गरेकी थिइन् । उक्त सांस्कृतिक केन्द्र चरणबद्ध योजनाअन्तर्गत १२ करोड २४ लाख ७९ हजारको लागतमा तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस्