Ads

चीनले कुन कुन क्षेत्रमा गर्दैछ सहयोग ?


काठमाडौँ । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच सोमबार ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो । दाहालको चीन भ्रमणका क्रममा भएका सहमतिअनुसारसुरुङमार्ग र चक्रपथ विस्तारको दोस्रो चरणलाई तीव्रता दिन चीन सहमत भएको हो ।

नेपाल–चीनले मंगलबार जारी गरेको संयुक्त वक्तव्यमा टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन दुवै देश सहमत भएको जनाइएको छ । यो परियोजनाले दुई देशबीचको कनेक्टिभिटीको स्तरलाई वृद्धि गर्ने अपेक्षाका साथ सम्भाव्यता अध्ययनलाई तीव्रता दिइने भएको हो । साथै चक्रपथ विस्तारको दोस्रो चरणलाई छिटो कार्यान्वयनका लागि पनि सहमति जुटेको जनाइएको छ ।

यस्तै, जिलोङ/केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । साथै चीनले रेल सञ्चालनका लागि आवश्यक तालिम दिने भएको छ । संयुक्त वक्तव्यमा रेलसम्बन्धी आवश्यक तालिमका लागि सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको जनाइएको छ । तर यससम्बन्धमा विस्तृतमा केही खुलाइएको छैन । योसँगै नेपाल–चीन रेलवे सहयोग सम्बन्धी आठौं बैठक जतिसक्दो चाँडो आयोजना गर्ने योजना बनाइएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

यसैगरी लिजी–नेचुङ सीमा बन्दरगाहको नेपाल क्षेत्रमा पूर्वाधार विकासका लागि सहयोग गर्न चीन सहमत भएको छ । चीनले जतिसक्दो छिटो पूर्वाधान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

छेन्ताङ–किमाथांका र रिवु–ओलाङजुङगाला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच छलफल जारी रहने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर गरिएका सहयोगसम्बन्धी सम्झौताहरूको कार्यान्वयनलाई निरन्तरता दिन दुवै पक्ष सहमत भएका छन् ।

संयुक्त वक्तव्यमा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण निर्माण छिटो सुरु गर्ने सहमति भएको जनाइएको छ ।

‘जिलोङ/केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो सुरु गरिने छ ।’ वक्तव्यमा भनिएको छ ।

यस्तै चीनको ऋण सहयोगमा निर्माण सम्पन्न भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पनि दुई देशबीच सहमति भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न र सञ्चालनमा आएकोमा सन्तुष्टि व्यक्त गरेका छन् । दुई पक्षबीच पोखरा विमानस्थलबाट हवाई उडान फेरि सुरु गर्न आफ्नो देशका एयरलाइन्सहरुलाई प्रोत्साहन गर्दै दुई मुलुकका जनताबीच सम्बन्ध स्थापित गर्ने सहमति भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू