ताप्लेजुङ\ ताप्लेजुङको प्रशिद्ध तीर्थस्थल पाभिरामा संकलन भएको सिक्का सटहीमा समस्या भएको छ । यहाँ जम्मा भएको ३५ क्विन्टलभन्दा वढी भारतीय सिक्का सटहीमा समस्या भएको हो । पाथीभरा क्षेत्रमा चढाएको सिक्का पाथीभरा क्षेत्र विकास समितिले संकलन गरेर राखेको छ ।
एकमुष्ट सटहीका लागि नेपाल राष्ट्र बैंक कोशी प्रदेश कार्यालय विराटनगरसँग समन्वयको प्रयास गरेको क्षेत्र विकास समितिले जनाएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म पाथीभरामा ४७ देशको पैसा भेटिएको थियो । नेपालपछि सबैभन्दा बढी पैसा भारतको छ । पाथीभरा मन्दिरमा आर्थिक वर्ष २०७९\८० मा ३ करोड १९ लाख १६ हजार रुपैयाँ भेटीबापतको रकम संकलन भएको थियो । यो नोट पैसा मात्रै हो ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार गत असार मसान्तसम्मको सिक्का सदरमुकाम फुङलिङ ल्याएर गोदाम गरिएको छ । मन्दिरदेखि सदरमुकामसम्म ढुवानी गर्न करिब एक लाख रुपैयाँ खर्च भएको छ ।
मन्दिरदेखि काफ्ले पार्टीसम्म मान्छेले बोक्दा ढुवानी प्रतिकिलो २० रुपैयाँ र त्यहाँदेखि गाडीमा ल्याउँदा ६ रुपैयाँ गरी २६ रुपैयाँ पर्न आउछ । ३५ क्विन्टलको ढुवानी खर्च ९६ हजार रुपैयाँ हुन आउँछ । सटही हुने भए सफा गरेर टल्काउने योजनामा समिति छ । तर सटही हुने नहुने अनिश्चय भएकाले बोरामा हालेर गोदाममा सुरक्षित गरिएको काफ्ले बताउँछन् ।
नेपाली सिक्का एक रुपैयाँको चार र दुई रुपैयाँको पाँच ग्राम तौल हुन्छ । चार किलोको एक हजार रुपैयाँ हुन्छ । यही आधारले भए ३५ क्विन्टलको करिब नौ लाख भारतीय रुपैयाँ हुन्छ । त्यसको नेपाली १४ लाख रुपैयाँको हाराहारीमा हुन आउँछ । एकमुष्ट सटहीको उपाय खोजेको काफ्ले बताउँछन् । तर राष्ट्र बैंकले भने सिक्का सटही नहुने जनाएको छ । नेपाल राष्ट्र बैंक कोशी प्रदेशका उपनिर्देशक लक्ष्मीप्रसाद तिमल्सिना एक देशको सिक्का अर्को देशमा सटही नहुने बताउँछन्
पैसा खेर जान नदिन समितिले अरु नै विकल्प खोज्नुपर्ने सुझाव राष्ट्र बैंकका कर्मचारीको छ । समितिसँग भारतीय रुपैयाँका नोट पनि १९ लाख ६४ हजार रुपैयाँ छ । एक रुपैयाँदेखि हजार रुपैयाँसम्मका नोट पनि सटही गर्न बाँकी रहेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्