Ads

गम्भीर अपराधका दोषीलाई कैद मिनाहाको निर्णय गलत छ : गगन थापा


काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको सरकारले जानकारी गराउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौजदारी मुद्दामा जेल सजाय भोगिरहेकाहरूले कसरी आममाफी पाउन मिल्छ ? भन्दै प्रश्न गरे । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसद्मा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।

‘संविधान दिवसको दिन ६ सय ७० जनालाई माफी मिनाहा गरिएको छ। तीमध्ये कति संविधानसम्मत, कानुनसम्मत पनि छ होला । तर, फेरि एकपटक संविधानको मर्मविपरीत र कानुनको छिद्रबाट बदनियतका साथमा छिरेर, गम्भीर अपराधमा दोषी ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको छ,’ उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ। यसको विरोध स्वाभाविक छ, वाञ्छनीय छ। यसको विरोध हुन्छ।’

उक्त विषय अदालतसम्म पुगेको उल्लेख गर्दै महामन्त्री थापाले सरकारको सो निर्णयले सबैलाई गिज्याइरहेको बताए।

‘यो विषय अदालतको ढोकासम्म पुगेको छ, जसले हामी सबैलाई गिज्याइरहेको छ। अदालतमाथि पनि प्रश्न उठेको छ,’ उनले भने, ‘अदालतले पक्कै यसको बारेमा बोल्छ। र, सही कुरा बोल्छ।’

Ads

सम्बन्धित पोष्टहरू