दमक\ दमक नगरपालिकाले शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने अशक्तता भएका समुदायको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घरमै सहायता सामग्री पुगाउन सुरु गरेको छ ।
यो अभियान अन्तर्गत नगरभित्र बसोबास गर्ने अपाङ्गता भएका ७२ जनालाई ह्विलचियर प्रदान गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जानकारी दिईन्। अपाङ्गता भएकासँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा ६३ वटा र नगरपालिकाले सोझै ९ वटा ह्विलचियर वितरण गरेको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा यस्ता व्यक्तिको पहिचान गरी अभियान सुरु गरिएको शाखाका प्रमुख सरिता भण्डारीले जानकारी दिईन् ।
दमक नगरपालिका भित्र अपाङ्गता भएकाको सङ्ख्या ७ सयभन्दा बढी रहेको बताइएको छ । यसभन्दाअघि नगरपालिकाले रातो कार्ड भएका अपाङ्गता हुनेलाई घरमा गएर विशेषज्ञ सेवा पनि सुरु गरेको थियो । मासिक रूपमा औषधिसहित यस्ता व्यक्तिहरूको घरमा पुग्दै आएको भण्डारीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्