काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकोप्टरको आवाजले चर्किएका घरहरु नभत्किउन् भनेर सचेत गराएका छन् । लामिछानेले बझाङमा भूकम्पबाट घर भत्किएका र चर्किएकालाई सुरक्षित आवासमा लैजानु पर्ने आवश्यकता रहेको उल्लेख गर्दै हेलिकोप्टरमा गइसकेपछि अरु नपुगेका दुर्गम ठाउँसम्म पुग्न उनले आग्रहसमेत गरेका छन् ।
सभापति लामिछानेले भूकम्पपछि प्रभावित क्षेत्रमा पीडित सबैका लागि पर्याप्त त्रिपालसमेत नभएको बताएका छन् । आफू पनि बझाङमा पीडितहरुसँगै रहेको जनाएका उनले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।
लामछिाने लेख्छन् ‘प्रधानमन्त्रीज्यू आज भूकम्प प्रभावित जिल्ला बझाङ आउँदै हुनुहुन्छ भन्ने सुनेँ । यहाँ प्रभावितको व्यवस्थापनमा समस्या छ । सबैका लागि पर्याप्त त्रिपाल पनि छैन । चिसो बढ्दो छ, ओढ्ने(ओछ्याउने आवश्यक छ । बच्चा र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्नुपर्ने छ । स्वास्थ्य चौकीहरू र शिक्षालयहरूलाई प्राथमिकतामा राखी तत्काल वैकल्पिक उपायसहितका टेम्पोरेरी सेल्टर टेण्ट आवश्यक छन् ।’
उनले अगाडि थप लेखेका छन् ‘प्रभावितलाई अब क्रमशः अरू समस्याले पिरोल्ने छ। घर भत्किएका र चर्किएकालाई बिस्तारै सुरक्षित आवासमा लैजानु पर्ने छ । प्रभावितबीच पुग्दै गर्दा प्रधानमन्त्रीज्यूले पक्कै यी समस्याबारे सोच्नु भएको होला, उनले भनेका छन्, ‘प्रभावितलाई निराश नबनाउनुहुन आग्रह गर्दछु । हेलिकप्टरको आवाजले चर्किएका घरहरू नभत्किउन्, हेलिकप्टर गइसकेपछि सकेसम्म अरू पुग्न नसेकेका दुर्गम ठाउँ तिर पुग्नु होला । हामी बझाङका जनताको साथमा छौँ ।’
प्रतिक्रिया दिनुहोस्