काठमाडौ\ इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीहरुका बारेमा चासो र चिन्ता शुरु भएको छ । त्यहाँ रहेका नेपालीहरुले जति सक्दो चाँडो आफुहरुको उद्धारका लागि आग्रह समेत गरेका छन् ।
इजरायलमा काम गर्न गएका नेपाली विद्यार्थीहरु पनि आफुहरु नेपाल फर्किन चाहेका जनाएका छन् । अहिले पनि विभिन्न ठाउँमा मिसाइलहरु आक्रमण भैरहेकाले सरकारले चाँडै उद्धार गरेर स्वदेश फर्काइदेओस् भन्ने उनीहरुको माग छ ।
स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेबाट नै इजरायल माथि प्यालेस्टाइनी विद्रोही समूहले आक्रमण सुरु गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार घटनामा १४ जना नेपाली काम गर्ने एक कृषि फार्ममा आक्रमण हुँदा ९ जना घाइते भएका र तीमध्ये दई जनाको अवस्था गम्भीर छ । एग्रिकल्चरको किवुज कम्युनिटीमा काम गर्ने विद्यार्थी घाइते भएको जनाइएको छ ।
घटनास्थलबाट करीब ३० किलोमिटर पर रहेको सोरासिम नर्सरी फार्ममा काम कतिपय बंकरमा नै बसिरहेका छन् । घटना भएको स्थल नजिकै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुसमेत परेको त्यहाँ रहेका विद्यार्थीहरुले जनाएका छन् ।
चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट कृषि, पशु विज्ञान तथा पशु चिकित्सा र वन संकायमा अध्ययन गर्ने विद्यार्थीहरु इजरायल गएका छन् । कृषि विश्वविद्यालयबाट १ महिना अगाडि तथा त्रिवि र सुदूरपश्चिम विश्वविद्यालयबाट २५ दिन अगाडि मात्रै विद्यार्थीहरु पढ्दै काम गर्न भनेर इजरायल गएका हुन् ।
उनीहरु हप्तामा एक दिन पढाइ र बाँकी दिन काम गर्ने गरी नेपालबाट इजरायल गएका थिए । विद्यार्थीहरुलाई विभिन्न फार्ममा बाँडेर ५ जनादेखि ३४ जनासम्मलाई राखेर काममा लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्