काठमाडौँ । ईजरायलमा भएको आतङ्ककारी हमलामा घाइते भएकामध्ये दुई जना नेपाली अस्पताल भर्ना भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालका अनुसार दूतावासले निरन्तर घाइतेहरूको उपचारका लागि पहल गरिरहेको छ । तर अवस्था प्रतिकुल रहेकाले कठिनाइ भइरहेको उनले जनाएकी छन् । उनकाअनुसार घाइते अन्य दुई जना दूतावासको सम्पर्कमा रहे पनि अन्यसँग सम्पर्क स्थापित हुन सकिरहेको छैन ।
प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको जानकारी प्राप्त भएको रिजालले बताइन् । ‘दुई जना अस्पताल भर्ना हुन सफल हुनुभएको छ । अन्य घाइतेमध्ये दुई जना सम्पर्कमा भएपनि अरु अवस्था यकिन हुन सकेको छैन’, उनले रातोपाटीसँग भनिन् । घाइतेहरू उपचारविहीन अवस्थामा बङ्करमा रहेको बताइएको छ ।
राजदूत रिजालका अनुसार इजरायलको प्रायः सबैजसो भूभागमा अहिले कर्फ्यु लागेको अवस्था छ । दुई पक्षीय युद्ध चलिरहेको छ भने अवस्था निकै अशान्त रहेको छ । घटनामा परेका नेपालीहरू इजरायल प्यालेस्टाइन सीमा क्षेत्रमा रहेको गाजा क्षेत्रको कृषि फार्ममा कार्यरतहरु हुन् । कृषि फार्ममा उनीहरू प्राक्टिकल गर्नेहरू रहेको बताइएको छ । उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट त्यहाँ प्राक्टिकलका लागि पुगेका थिए ।
सो कृषि फार्ममा १७ नेपाली कार्यरत रहेको बताइएको छ । अन्य भने साइरन बजेसँगै बङ्करमा छिर्न भ्याएपछि जोगिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्