Ads

‘सरकारले विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन, प्रधानमन्त्रीले इजरायलका समकक्षीसँग तत्काल संवाद गर्नुपर्छ’: एमाले


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीहरुलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाई नगर्न सरकारसँग आग्रह गरेको छ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायल-गाजा आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँका समकक्षीसँग तत्काल संवाद अघि बढाउनुपर्ने बताए।

उनले भने,’सरकारले विज्ञप्ति जारी गरेर पुग्दैन,संसदमा जानकारी गराएर हुँदैन। त्यहाँका समकक्षी बेन्जामिन नेतान्यूसँग नेपालीको सुरक्षा र उद्दारका लागि संवाद गर्नुपर्छ।’

उनले नागरिकको अभिभावक सरकार रहेको भन्दै आपत परेको बेला सरकार छ भन्ने अनुभूति दिलाउनुपर्ने बताए। एमाले सांसद गिरीले नेपाली जनताको उद्दारका लागि यूएन महासभाको बैठकमा कुरा उठाउनुपर्ने बताए। उनले भने,’अहिले युएनको बैठक चलिरहेका छन्। बैठकमा नेपाली जनताको रक्षा,उद्दार र सहयोगका लागि ध्यानाकर्षण गराउनुपर्यो। नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन रक्षाका लागि लाग्नुपर्यो।’

उनले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूको लागि छिमेकी मित्र राष्ट्रहरूसँग समन्वय गरेर नेपाल ल्याउनका लागि प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

उनले भने,’विदेश गएका दाजुभाइ तथा दिदीबहिनीहरूले देशभित्र अवसरमा नपाएर अकालमा ज्यान गुमाउनुपरेको अवस्था छ। यदि कोही घर फिर्ता हुन चाहन्छन् भने तिनीहरूका लागि जहाज चार्टर्ड गरेर उद्दार गर्नुपर्छ। ‘

इजरायल र हमासबीच आक्रमणमा परी तीन नेपाली घाइते र १२ जना सम्पर्कविहीन भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

सो आक्रमणमा परी करिब ५ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्।

Ads

सम्बन्धित पोष्टहरू