विराटनगर । विराटनगर–७ स्थित वीरेन्द्र सभागृहको जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ । सभागृह जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापाले बताए । थापाका अनुसार जीर्णोद्धारको काम करिब ८५ प्रतिशत पुरा भइसकेको छ। अबको एक महिना भित्रै सम्पन्न गर्ने लक्षका साथ काम भइरहेको छ।
मुख्य कामहरू सम्पन्न भइसकेकाले अब, रंग रोकन गर्ने, कुर्सीहरू राख्नेलगायतका काम मात्रै बाँकी रहेको छ । थापाले सभागृहको जीर्णोद्धार गरेर विगतको भन्दा केही फरक र आकर्षक ढाँचाको बनाउन लागिएको बताए । विगतमा पार्किङ सुविधा नरहेको सभागृहमा अहिले पार्किङको व्यवस्था पनि गर्न लागिएको थापाले जानकारी दिए। उनका अनुसार वीरेन्द्र सभागृह परिसरमा रहेको इको पार्कको केही भाग प्रयोग गरेर पार्किङको व्यवस्था गर्न लागिएको छ ।
२०२० सालमा वीरेन्द्र सभागृह निर्माण गरिएको थियो। नगर विकास कोषको लगानी साझेदारीमा सभागृह जीर्णोद्धारको काम अघि बढेको हो । सभागृह जीर्णोद्धारका लागि कोषले १२ करोड ४० लाख र प्रदेश सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । सभागृहको जीर्णोद्धारका लागि कुल २० करोड लागत अनुमान गरिएको छ ।
जीर्णोद्धार पछि सभागृह ४ सय २० क्षमताको हुनका साथै मिडिया सेन्टर, थिएटर, भिआइपी कक्ष, मिटिङ हल, भिआइपी वेटिङ रुम, चेन्जिङ रुम समेतको सुविधा रहने छ ।
प्रतिक्रिया दिनुहोस्