काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरूको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजी गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएका हुन् ।
‘उक्त अकल्पनीय घटनाबाट निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरूको शीघ्र स्वास्थ्य उपचार गर्न, बेपत्ता भएकाहरूको खोजी गर्न, अप्ठ्यारोमा परेका नेपालीको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न, पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्तीको चाहना राख्ने नेपालीलाई तत्काल फिर्तीको प्रबन्ध पहल गर्न समिति सरकारलाई निर्देश गर्दछ,’ बैठकका निर्णय सुनाउँदै समितिका सभापति राजकिशोर यादवले भने।
समितिले भविष्यमा घट्न सक्ने यस्ता घटनाको पूर्वआकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सम्बन्धित देशमा रहेका नेपाली नागरिकको विवरण अद्यावधिक गरी पूर्वतयारी अवस्थामा राख्न तथा ती निकायहरूलाई स्रोतसाधनसहित सक्षम र सशक्त बनाउनसमेत निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्