काठमाडाैँ । नेपालमै पहिलोपल्ट एकै व्यक्तिमा एकैपटक मिर्गौला र कलेजो प्रत्यारोपण सफल भएको छ । गएको सोमबार १०० जना जनशक्तिले १८ घण्टा लगाएर प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार चितवनकी ३४ वर्षीया महिलामा दुई अंग प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै ३५ वर्षीय श्रीमान्ले कलेजो र ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन् । ती महिलामा जन्मजात प्राइमरी हाइपरअक्जलरिया टाइप १ नामक रोग थियो ।
अस्पतालका निर्देशक प्राडा सुरज वज्राचार्यका अनुसार सोमबार बिहान ११ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्म १८ घण्टा लगाएर सोनाको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको थियो । जसका लागि १ सयभन्दा बढी जनशक्ति परिचालन भएको डा. वज्राचार्यले बताए ।
प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्ली र डा. सञ्जीव अनेजाको सहभागिता थियो ।
त्यस्तै, किष्ट अस्पतालबाट वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूले प्रत्यारोपण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्