Ads

विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध भारतको शानदार जित


काठमाडौं । आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा अफगानिस्तानविरुद्ध भारतले कीर्तिमानी जित हात पारेको छ । भारतले अफगानिस्तानलाई आठ विकेटले हराउँदा कप्तान रोहित शर्माले आफ्नो नाममा कीर्तिमान बनाएका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेट्ली रंगशालामा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७२ रन बनायो । भारतले दुई सय ७३ रनको विजयी लक्ष्य ३५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

भारतका कप्तान रोहित शर्माले कीर्तिमानी ब्याटिङ गरे । उनले ८४ बलमा १६ चौका र पाँच छक्कासहित सर्वाधिक एक सय ३१ रन बनाए । विश्वकपमा शर्माको यो सातौं शतक हो । उनी विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी बनेका छन् । यसअघि विश्वकपमा भारतका पूर्वकप्तान सचिन तेन्दुलकरले ६ तथा श्रीलङकाका पूर्वकप्तान कुमार सङ्गाकारा र रिक्की पोन्टिङले पाँच पाँच शतक प्रहार गरेका थिए ।

त्यस्तै भारतका लागि इशान किशनले ४७ बलमा पाँच चौका र दुई छक्कासहित ४७, विराट कोहलीले ५६ बलमा ६ चौकासहित ५५ तथा श्रेयस अययरले २३ बलमा एक चौका र एक छक्काको मद्दतमा २५ रन बनाए । बलिङतर्फ अफगानिस्तानका राशिद खानले आठ ओभरमा ५७ रन खर्चेर दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानका लागि कप्तान हश्मातुल्लाह शाहिदीले ८८ बलमा आठ चौका र एक  छक्कासहित ८०, आजमतुल्लाह ओमरजाईले ६९ बलमा दुई चौका र चार छक्कासहित ६२, रहमाउल्लाह गुरबाजले २८ बलमा तीन चौका र एक छक्कासहित २१, इब्राहिम जद्रानले २८ बलमा चार चौकासहित २२, मोहम्मद नाबीले १९ तथा रहमात शाहले १६ रन बनाए ।

बलिङतर्फ भारतका जस्प्रित बुमराहले १० ओभरमा ३९ रन खर्चेर चार, हार्दिक पान्ड्याले सात ओभरमा ४३ रन खर्चेर दुई तथा शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए । यसअघि पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो  । अफगानिस्तान भने बङ्गलादेशसित ६ विकेटले पराजित भएको थियो । भारतले अब आफ्नो तेस्रो खेल शनिबार पाकिस्तानसँग खेल्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू