काठमाडौँ । गुण्डानाइके रिगल भनिने योगराज ढकालको कैद कट्टाविरुद्ध परेको रिट प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा परेको छ ।
रिगलविरुद्धको रिट प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको हो ।
चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिटमा गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माले बिहीबारका लागि पेशी तोकेका थिए।
न्यायाधीश शर्माले यस मुद्दालाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएका थिए। अग्राधिकार भनेको त्यो दिनको पेशी सूचीमा पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नु हो।
यस मुद्दामा इजलासले महान्यायाधीवक्ता आफैं उपस्थित भएर बहस गर्न आदेश दिएको थियो।
उक्त आदेशसँगै महान्यायाधीवक्ता दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र गोपाल रिजाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल लगायतले बहस गर्ने भएका हुन्।
न्यायाधीश शर्माको इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका दिन माफी मिनाहासम्बन्धी गरेको निर्णयको सक्कलप्रति पनि असोज २४ गतेभित्रै झिकाउन आदेश दिएको थियो। रिगलविरूद्ध नेपाल सरकारको मुद्दामा सर्वोच्चले दिएको मुद्दा फिर्तासम्बन्धी आदेश र अरू सबै मुद्दाहरूको मिसिल पनि मगाएको थियो।
रिगल संविधान दिवसको दिन तुलसीपुर कारागारबाट छुटेका थिए। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कैद मिनाहा गरेपछि उनी कैद मुक्त भएका थिए।
बाँके जिल्ला अदालतको फैसला अनुसार ढकाल २०९२ भदौ ७ गतेसम्म जेलमा बस्नुपर्ने थियो । तर ८ वर्षमात्रै कैद सजाय भुक्तान गरेका ढकाललाई राष्ट्रपतिले बाँकी कैद कट्टा गराई जेलमुक्त गरिदिएका थिए ।
सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्तिलाई यसरी बाँकी कैद कट्टा गर्न नमिल्ने वा सजायमा छुट दिन नमिल्ने भन्दै मृतक चेतन मानन्धरी पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्