Ads

मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीको दाबी


विराटनगर–कोशी प्रदेशको मुख्यमन्त्रीमा इन्द्रबहादुर आङ्बो र केदार कार्कीले दाबी पेस गरेका छन्। आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता हुन्। दुवै जनाले बहुमत (४७) प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

कार्की नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हुन्। कांग्रेसको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर उनले नेकपा एमालेको समर्थन लिएर मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। कांग्रेसका ८ जना प्रदेशसभा सदस्यले पनि उनलाई साथ दिएका छन्। ९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्। ६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न समयसीमा दिएका छन् । नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।

कांग्रेसका उपनेताले दिए राजिनामा
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । उनले आफू अब प्रदेशसभा सदस्यमात्रै रहने जनाएका छन् । उनले भनेका छन्, ‘ ‘विविध कारणवश म उक्त जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मिति देखि लागू हुने गरी उक्त प्रदबाट राजीनामा गरेको ब्यहोरा अनुरोध गर्दछु।’

उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेश सभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू