काठमाडौं । ईजरायलमा ज्यान गुमाएका नेपालीहरुका आफन्तले शव नपाउँदा अझै पीडामै छटपटिनु परेको छ । त्यहाँ फसेका केहि नेपालीहरुको उद्धार गरि ल्याईएको भए पनि शव प्राप्ति प्रकृया लम्बिने बताईएको थियो । तर त्यहाँ मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव नेपाली दूतावासले प्राप्त गरेको छ ।
आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको छ । ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ दूतावासले विज्ञप्तिमा भनेको छ । अरु ५ जनाको शव प्राप्त हुने क्रममा रहेको तेल अबिबस्थित नेपाली दूतावासले जनाएको छ ।
बेपत्ताको खोजी जारी,दुई जना उपचारमा
दूतावासका अनुसार हमासको आक्रमणको क्रममा वेपत्ता रहेका विपिन जोशीको खोजी जारी छ। आक्रमणमा घाइते भएका ४ जनामध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका, जसमध्ये एक जना नेपाल पुगिसकेको र एक जना दूतावासको हेरचाहमा छन्। दुई जनाको भने अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
इजरायलबाट २५३ जनाको भने नेपाल एयरलाइन्सको विमानमार्फत उद्धार गरी बिहीबार राति नेपाल ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस्