मोरङ । प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले मेची अस्पताललाई २०० शैयामा स्तरवृद्धि गर्ने बताएका छन् ।
मन्त्री यादवले पत्रकारहरुसंग कुरा गर्दै प्रदेश १ का नागरिकको सहजताका लागि सस्तो, सुलभ र आवश्यक सेवा प्रदान गर्न सक्ने गरी अहिले रहेको मेची अस्पताललाई २ सय शैयाको बनाउने बताएका हुन । मन्त्रीले अहिले प्रदेशका स्वास्थ्य संस्थामा ५० प्रतिशत दरबन्दी खाली रहेकोले पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाइने बताए ।
मन्त्रीले प्रादेशिक स्वास्थ्य नीतिको खाका तयार गर्ने, पशुबाट मानिसमा सर्ने रोगको नियन्त्रणका लागि रणनीति तयार गर्ने, स्वास्थ्य बीमा बोर्डको प्रदेश कार्यविधि तयार गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा पेश गर्ने, मेची अस्पताललाई २०० शय्यामा स्तरवृद्धि गर्न आवश्यक तयारी गर्ने लगाएतका योजना सार्वजनिक गरेका छन् ।
यसैगरी प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था गर्ने, प्रदेश जनस्वास्थ्य प्र्रयोगशालाको सेवा आफ्नै भवनबाट सुरु गर्ने, स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणको कार्यक्रम कार्यान्वयन गर्ने, मेची अस्पताल, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी, इनरुवा, अस्पताल र गाईघाट अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा तथा प्रषण प्रणाली सुदृढ गर्न एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम पनि मन्त्रीको योजनामा परेका छन् ।
अस्पतालमा उपचारार्थ आउने बिरामीलाई ठगी हुने कार्यलाई रोकथामका लागि मन्त्रालयमा एक समिति गठन गरी विशेष अभियान सञ्चालन गर्ने जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्