काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ्ग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङले जानकारी गराएको छ ।
बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (OM)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ ।
उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ । श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतका साथ पूर्णरूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ।
बीआरआई शिखर सम्मेलनमा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठलाई गएराति एक बजे ‘माइल्ड’ हृदयघात भएको थियो । चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्