Ads

आठविसकोटका लागि विभिन्न सङ्घसंस्थाबाट राहत सामग्री धमाधम सहयोग हुँदै


रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई विभिन्न सङ्घसंस्थाबाट भूकम्पपीडितको लागि राहत सामग्री प्राप्त भएको छ । पीडितका लागि विभिन्न सङ्घसंस्थाले यतिबेला राहत सामग्री नगरपालिकामै पुर्याएर सहयोग गरिरहेका छन्  भने केहीले सहयोगका लागि घोषणा गरिरहेका छन् । केहीले नगदसमेत हस्तान्तरण गरेका छन् । विभिन्न सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा पुगेर उद्धारसमेत गरिहेका छन् ।

देश तथा विदेशबाट सहयोग आउने क्रम पनि जारी छ । आइबारबाट राहत सामग्री आउन सुरु भएको थियो । भूकम्पपीडितका लागि राहत सामग्री आउने क्रम रोकिएको छैन । नगरपालिकालाई खाद्यान्नसँगै अन्य राहत सामग्री आइरहेका छन् । पहिलो चरणको राहत सामग्री मृतकका परिवारलाई वितरण  गरिसकेको नगरपालिकाले जनाएको छ ।

मृतकका २४ घरपरिवारलाई राहतसँगै किरिया खर्चबापतको २५ हजार रकम उपलब्ध गराइएको आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले जानकारी दिइन् । नगरपालिकामा घर पूर्णरुपमा क्षति भएकालाई पनि खाद्यान्नसँगै बस्नको लागि त्रिपाल वितरण गरिएको उनले जानकारी दिइन् । नगरपालिकाले शनिबार उद्धार कार्य सकेर आइतबारदेखि राहत वितरणको काम सुरु गरेको हो । राहत वितरण कार्य आज पनि जारी रहेको नगर उपप्रमुख शाहीले जानकारी दिइन् ।

नगरपालिकालाई देश तथा विदेशबाट सहयोग आइरहेको छ । हालसम्म नगरपालिकालाई विभिन्न ३४ वटा सङ्घसंस्था तथा व्यक्तिले राहत सामग्री हस्तान्तरण गरेको आठविसकोट नगरपालिका जिन्सी शाखा प्रमुख टेकबहादुर ओलीले जानकारी दिए । उनका अनुसार नगरपालिकालाई खाद्यान्नलगायत बस्नको लागि त्रिपाल  टेन्ट कम्बल, स्वास्थ्य सामग्रीलगायत नगद सहयोग प्राप्त भएको छ ।

नगरपालिकालाई आर्थिक तथा खाद्यान्नलगायत राहत सामग्री आउने क्रम जारी रहेको र भूकम्प प्रभावित क्षेत्रमा राहत वितरणको काम पनि जारी रहेको नगर प्रमुख रवि केसीले जानकारी दिए । उनका अनुसार राहत वितरण  चलिरहेको र सबै भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गर्न नसकिएको उनले स्वीकार गरे । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाए गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू