काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा दलहरू मिलेर मात्रै नपुग्ने बताएका छन्।
अध्यक्ष तिमिल्सिनाले पीडित पक्ष र अधिकारकर्मीहरूलाई सहमत गराएर मात्रै राजनीतिक दलहरूले छिटो सो विधेयकलाई टुंगोमा पुर्याउनु पर्ने बताएका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुर्याउने काममा दलहरू आफैं जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरूलाई आममाफी दिन नहुने पनि स्पष्ट पारे।
उनले दलहरूकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानुन समेत हालसम्म निर्माण हुन नसकेको पनि पटकपटक दोहोर्याए।
प्रतिक्रिया दिनुहोस्