धनकुटा\ खाना बनाउन प्रयोग हुने एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गर्दै धनकुटामा फोहर र गोवरबाट ग्यास उत्पादनलाई प्रोत्साहन गरिएको छ । कंक्रिट र खर्चिलो गोवर ग्यासको सट्टा सानो आकारको तयारी संरचना मार्फत ग्यास उत्पादन हुने गरेको छ ।
धनकुटा नगरपालिकाका करिब सय परिवार कृषकले अहिले एलपी ग्यासको विकल्पमा बायो ग्यासको होम सिस्टम प्रयोग गर्दै आएका छन् । गाई भैँसीको गोबर तथा कुहिने फोहोरबाट ग्यास बाल्नुका साथै मलको रूपमा खेतबारीमा प्रयोग गर्न सहज भएकाले किसानले दोहोरो फाइदा देखेर यो प्रविधि रुचाउन थालेका हुन् ।
त्यसो त यो विधिबाट कृषकलाई आर्थिक लाभ समेत हुन्छ, महिनै पिच्छे किन्नु पर्ने एलपी ग्यासको पैसा बचत हुन्छ । कम आयस्रोत भएका व्यक्तिका लागि पैसा बचत हुनुका साथै घरको पनि सरसफाइ हुने र मल पनि हुने भएकोले गोबर ग्यास प्रविधि निकै प्रभावकारी भएको किसानहरूको भनाइ छ । बायो ग्यास बाल्न सुरु गरेपछि दाउराको बचत हुने, दाउरा खोज्न जाने समयको बचत हुनुको साथै खाना पकाउन छिटो छरितो र भाडामा धुवाँ नलागेका कारण स्वास्थ्य समस्या पनि नहुने भएकाले यो प्रति आकर्षण बढेको धनकुटा नगरपालिका वडा नम्बर एकका कृषक लाखमान तामाङले बताए ।
यो प्रविधि गर्भवती महिला, वृद्धवृद्धा तथा बालबालिकाको लागि निकै सहज हुने उनको अनुभव छ । पछिल्लो समय गाउँगाउँमा एलपी ग्यासको प्रयोग बढ्दो छ । प्रयोगमा सहज हुने भन्दै उपभोक्ता यसतर्फ आकर्षित भएका हुन् । तर धनकुटा नगरपालिकाले भने एलपी ग्यासको विकल्पमा कच्चा पदार्थ सहजता भएको क्षेत्रमा वैकल्पिक ऊर्जा अन्तर्गतको बायो ग्यास प्रयोगलाई प्रोत्साहन गदै आएको छ ।
बायो ग्यास जडान गर्दा ४० हजार नगरपालिकाको अनुदान, १६ हजार कृषकको लगानी र बाँकी करिब २० हजार रुपियाँ सप्लाएर्स कम्पनीको लगानी हुने गरेको छ ।
धनकुटा नगरपालिकामा एक सय घरमा गोबर ग्यास जडान भइसकेको र ५ हजार घरमा पुर्याउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ । यो प्रयोग गर्न गोबर तथा कुहिने फोहोर भए पुग्छ । दिनमा ५ देखि १० किलोसम्म गोबर हाल्दा एक दिनमा बिहान दिउँसो र बेलुकाको खाना र नास्ता बनाउन सकिन्छ । त्यस्तै सोही हाराहारीमा कुहिने फोहोर हाल्दा दुई दिनसम्म प्रयोग गर्न सकिने ग्यास उत्पादन हुन्छ ।
ग्याँसबाट निस्केको मल खेतीबालीमा प्रयोग गर्न समेत सहज हुने धनकुटा नगरपालिका वडा नम्बर ६ का कृषक तारामान कटुवालको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस्