काठमाडौ\ अर्वौको लगानी र वर्षौको प्रतिक्षा पछि बनेका देशका कयौ विमानस्थलहरु सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आएका पनि कतिपयमा नियमित उडान हुँदैन । कतिपय विमानस्थलहरुको स्तरीकरण नहुँदा नियमित उडानमा समस्या हुने गरेको छ भने मौषमी र भौगोलिक प्रतिकुलता पनि अर्को चुनौती बन्ने गरेको छ । तर भएका कतिपय विमानस्थलहरु पनि नियमित सञ्चालन हुन नसकि रहेका बेला नयाँ विमानस्थल बनाउने बहस बारम्बार उठ्ने गरेको छ । तर तत्कालको आवश्यकता भएका विमानस्थललाई स्तरीकरण गरि पूर्ण क्षमतामा नियमित उडान हुन सक्ने बनाउने कि भएकालाई अलपत्र बनाउँदै नयाँको थालनी गर्ने भन्ने प्रश्न पनिसँगै छ ।
कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा विमानस्थलहरु छन् । तर ति मध्ये कतिपय प्रयोग विहिन बनेका छन् । कोशी प्रदेशमा सोलुखुम्बुको स्याङबोचे र कागेलडाँडा विमानस्थल तथा ओखलढुंगाको खिजी चण्डेश्वरी विमानस्थल, थामखर्क, खानी डाँडा, लामिडाँडा, लगायतका विमान स्थलमा संचालनमा छैनन् । यी विमानस्थलहरु लामो समयदेखि बन्द छन् ।
कोशीको सुनसरी, पाँचथर, तेह्रथुम, धनकुटा र उदयपुर जिल्ला बाहेक सबै ठाउँमा विमानस्थलहरु छन् । ताप्लेजुङको सुकेटारलगायत पहाडी जिल्लाका अधिकांश विमानस्थलहरु नियमित उड्ने विमानको पर्खाइमा छन् । विमानस्थलमा विमानमात्र होइन सहज सडक सञ्जाल विस्तारका कारणले विमानले यात्रु नभेट्ने समस्या पनि छ ।
धरानको बहस
अहिले धरानमा विमानस्थल बनाउनु पर्छ भन्ने बहस चर्कि रहेको छ । तर क्षेत्रीय विमानस्थलको रुपमा रहेको विराटनगर विमानस्थलबाट मात्र ४० किलोमिटरको दुरीमा अर्को विमानस्थल बनाउन अध्ययन थालिएको छ ।
धरान–१७ स्थित डाँडाघोपामा विमानस्थल निर्माण गर्नका लागि मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक नलबिक्रम थापाको संयोजकत्वमा ३ सदस्यीय अध्ययन समिति समेत गठन गरिसकेका छन् ।
गत कात्तिक २२ गते विमानस्थल निर्माणका लागि आवश्यक पहल र सहजीकरण माग गर्दै धरान उप–महानगरपालिकाका प्रमुख हर्क साम्पाङले मन्त्रालयलाई पत्राचार गरेका थिए । त्यसपछि सामाजिक सञ्जालमा मन्त्री किरातीको नाम नै उल्लेख गरेर विमानस्थल निर्माण गरिछाड्ने प्रचारबाजी गरे । मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणले प्रबन्धक नलबिक्रम थापाको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति समेत गठन गरिसकेको छ ।
पुरानै कुरा
धरानमा एयरपोर्ट बनाउने विषय अहिलेको भने होइन । २० वर्षदेखी धरानमा विमानस्थल बन्ने हल्ला चलिरहेको छ । २०६० सालमा धरान–१७ को डाँडाघोपाका २९ जना स्थानीयको ७ बिगाहा ५ कट्ठा जग्गा खरिद गरिएको थियो । विमानस्थल बनेपछि जग्गाधनीलाई रोजगारी दिने आश्वासन दिएर तत्कालीन समयमा जग्गा बेच्न लगाइएको तर विमानस्थल नबनाएको आरोप उनीहरुको छ । तत्कालीन जनप्रतिनिधि तथा अगुवाहरूले धाकधम्की दिएर नै एयरपोर्टलाई जग्गा बेच्न लगाएको स्थानीयको आरोप छ । धरानमा विमानस्थल निर्माणको बहस सेलाइसकेको भएपनि पुनः उठेको हो।
‘हवाई नीति २०७७’ मा एकदेखि अर्को विमानस्थलबिचको दुरी पहाडी इलाकामा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । तर, धरान र विराटनगरको हवाई दूरी मात्र १६ नटीकल माइल छ । धरानदेखि मात्र ३९ किलोमिटरको दूरीमा विराटनगरमा विमान स्थल छ ।
प्रतिक्रिया दिनुहोस्