Ads

सुरक्षामा उच्च सतर्कता, बढाईँदै निषेधित क्षेत्र, अलग अलग स्थान निर्धारण


काठमाडौं\ प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको एक समूहले मंसिर ७ गते एकै दिन भिन्ना भिन्नै विषय उठाएर राजधानीमा प्रदर्शन गर्ने तयारी गरेपछि सुरक्षा चासो निकै बढेको छ ।

विशेष गरी मंसिर ७ गतेलाई र त्यसअघि र पछि गरी यी दुई समूहको गतिविधिबाट समग्र शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै सरक्षाकर्मी पनि तयारी अवस्थामा राखिएको नेपाल प्रहरीका केन्द्रिय प्रहरी प्रवक्ता कुवेर कडायतको भनाई छ । प्रसाईं नेतृत्वको समूहले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउनुपर्ने माग राखेर गर्ने भनिएको आन्दोलनको समय अवधि भने तोकिएको छैन । उसले आवासीयरुपमा ठूलो संख्यामा सहभागीहरु आउने दाबी गर्दै आएको छ । यता, युवा संघले भने अहिलेसम्म ७ गते एकदिनको लागि मात्र प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेको छ ।

अलग अलग क्षेत्र तोकियो

यि छुट्टा छुट्टै प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि हुन सक्ने सम्भावना व्यक्त भैरहेको बेला स्थानीय प्रशासन र सुरक्षाकर्मीले त्यसलाई रोक्न विशेष तयारी गरेका छन् । दुवै प्रदर्शन अलग अलग विषयलाई लिएर गर्न लागिएको भनिएपनि एक अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका कारण स्थानीय प्रशासनले झडप हुने आशंकामा प्रदर्शनस्थल माइतीघर र आसपासको क्षेत्रमा ३० दिन लामो निषेधित क्षेत्र घोषणा गरिसकेको छ । त्यससँगै उसले दुवै पक्षलाई प्रदर्शन गर्न पाउने अलग अगल स्थान समेत तोकिदिएको छ । युवा संघलाई तिनकुनेको खुल्ला मैदानमा र दुर्गा प्रसाईं नेतृत्वको समूहलाई बल्खुमा स्थान निर्धारण गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् ।

बढाईँदै निषेधित क्षेत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रपति कार्यालय शितल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

यसैगरी प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैकं चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड ९यातायात व्यवस्था विभाग० देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ । सिंहदरबारमा भद्रकाली मन्दिर पूर्व तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दिरसम्म निषेधित क्षेत्र तोकिएको हो ।

यस्तै सिंहदरबार पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू