काठमाडौँ । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईबीच अविश्वासको अन्त्य भएको बताएका छन्।
बिहीवार कञ्चारकर्मीसंग कुराकानी गर्दै वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका श्रेष्ठले दाहाल र भट्टराईको बीचमा अविश्वास अन्त्य भएकाले छिट्टै दुई पार्टीको एकता हुने बताएका हुन्। उनले दुई नेताका बीचमा कुनै पनि प्रकारको असमझदारी नभएको बताए।
उनले क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न नभई एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको वस्तुगत आवश्यकता भएको उल्लेख गर्दै त्यसको बोध दुवै शीर्ष नेताहरूमा भएको बताए। अध्यक्षद्वय दाहाल र भट्टराई एकताबद्ध भएर जाने निष्कर्षमा पुगेको भन्दै अब एकता प्रक्रियामा विलम्ब नहुने उनले बताए। सहअध्यक्ष श्रेष्ठले एकता प्रक्रिया कुनै पनि बहानामा पछि नफर्किने बताए।
उनले भने, ‘वार्ता समितिले दिएको सुझावअनुसार नेपाल समाजवादी पार्टीले समिति बनाएको छ। उहाँहरूबीच तारन्तार छलफल भइराखेका छन्। हिजोका क्रान्तिकारी शक्तिहरू छिन्नभिन्न हुनुभन्दा एकीकृत भएर अघि बढ्नु आजको आवश्यकता हो। विचार, राजनीतिक एजेण्डा मिल्ने नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताकै प्रक्रिया अघि बढाउने। प्रचण्ड र बाबुरामबीचको अविश्वास दूर भएको छ।’
सहअध्यक्ष श्रेष्ठले प्रतिगामी शक्तिहरू एकताबद्ध हुँदै गइरहेको भन्दै उक्त कुरा अग्रगामी शक्तिहरूले चिन्ता गर्नुपर्ने विषय भएको बताए। प्रतिगामी शक्तिहरू एक हुनासाथ संघीयता, गणतन्त्र र संघीयता खारेज नहुने उनको भनाइ छ। उनले नेपालबाट संघीयता र गणतन्त्रलाई अब कसैले हटाउन नसक्ने दावी गरे।
उनले भने, ‘अहिले प्रतिगामी शक्तिहरू एकताबद्ध र केन्द्रित हुँदै जाने प्रवृत्ति देखा परिराखेको छ, हामी अग्रगामी शक्तिले चिन्ता गर्नुपर्ने विषय हो। तर यतिकै आधारमा राजतन्त्र पुनःस्थापना हुन्छ भन्ने सत्य होइन। गणतन्त्र र संघीयतालाई यो देशबाट कसैले मास्न सक्दैन। दुईचार व्यक्तिलाई मन परेन भन्ने बित्तिकै गणतन्त्र उल्टिदैन।’
सहअध्यक्ष श्रेष्ठले माओवादी केन्द्र र नेसपामात्रै नभई विगतमा जनयुद्ध, जनआन्दोलनमा सहभागी सबै शक्ति पुनः एक ठाउँमा उभिनुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस्