काठमाडौ\ नेपालको स्वास्थ्य सेवा क्षेत्रमा जनशक्ति अभाव हुन थालेको छ । जनशक्तिको विदेश पलायन, कतिपय शैक्षिक संस्थाहरुमा पठन पाठन ठप्प लगायतका कारण जनशक्ति अभाव देखिएको हो ।
चिकित्सा शिक्षामा जनशक्तिको अभाव हुन थालेपछि सरकारले एक सयदेखि तीन सय बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन गराउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यस्तो प्रस्ताव पारित गरेर चिकित्सा शिक्षा आयोगमा पठाएको छ । साथै प्रस्तावमा अस्पतालहरूको राय पनि मागेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले त्यो प्रस्ताव कार्यान्वयनमा आएपछि नर्सिङ र पारामेडिक्स जनशक्ति पुग्ने बताएका छन् । उनले हाल नेपालमा अध्ययन गर्न नपाउँदा नेपाली विद्यार्थी विदेश जाने क्रम बढेको भन्दै नेपालमा नै एक सय शय्या भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स तथा तीन सय शय्याभन्दा माथिका अस्पतालमा एमबिबिएस पढाइने जनाएका हुन् ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारको निर्णयले सातवटै प्रदेशमा चिकित्सा शिक्षा अध्ययन हुने जनाएका छन् । योजना कार्यान्वयन भएमा सरकारी अस्पतालमध्ये राप्ती, नारायणी, वीर, भरतपुर, लुम्बिनी अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताललगायतका अस्पतालमा नर्सिङ र पारामेडिक्स अध्यापन हुने छ ।
सचिव पोखरेलले सरकारसँग भएको संरचना र जनशक्तिको उपयोग गर्न छलफल थालेको बताए । उनले संरचना, गुणस्तर र जनशक्तिका विषयमा पनि छलफल गर्दै जाने र सहमतिका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र लेखिसकेको समेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्