वीरगञ्ज \मधेशलाई अन्नको भण्डार मानिन्छ । जनसंख्याको ठुलो हिस्सा पनि तराई मधेशमै केन्द्रित छ । तर यहिँका किसानहरु भने वर्ष भरि खान समेत पाउँदैनन् ।
मधेश प्रदेशमा वर्ष भरि कृषिकर्म गर्ने किसानको ठुलो हिस्सा खानाकै अभावमा रहने देखिएको हो । यहाँका ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेशमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरी खान नपुग्ने गरेको पाइएको हो ।
नेपालको कुल जनसङ्ख्यामध्ये ६१ लाख १४ हजार छ सय जनसङ्ख्या अर्थात् ११ लाख ५६ हजार सात सय १५ परिवार बसोबास गर्ने यस प्रदेशमा सात लाख ३८ हजार तीन सय ४० अर्थात् ६३ दशमलव ८ प्रतिशत परिवार कृषक रहेका तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रदेशका आठ जिल्लामा छरिएर रहेका ती कृषक परिवारले चार लाख ९२ हजार चार सय ९७ हेक्टरमा कृषिकार्य गर्ने गरेकामा ५७ प्रतिशतलाई मात्रै आफ्नै कृषि उत्पादनले वर्षैभरी खान पुग्ने गरेको कृषि गणना २०७८ मा उल्लेख गरिएको छ ।
तथ्याङ्कले धेरैजसो कृषक परिवारले जीवन निर्वाहका लागि मात्रै कृषि कर्म गर्ने गरेको देखाएको छ । जसअनुसार कृषि उत्पादनको हिस्सामध्ये १ दशमलव ८ प्रतिशत मात्रै बिक्री गर्ने गरिएको र त्यसबाहेक ६२ दशमलव २ प्रतिशत सबै घरायसी, ३० प्रतिशत मुख्य घरायसी र केही बिक्री तथा ५ दशमलव ६ प्रतिशत मुख्य बिक्री र केही घरायसी प्रयोग गर्ने गरिएको छ । मधेश प्रदेशमा अहिले पनि आम्दानीको मुख्यस्रोत कृषि कार्य हो भनी बताउने कृषकको प्रतिशत ६४ दशमलव ३ छ ।
कृषक परिवारअन्तर्गत मधेशमा जम्मा कित्ता सङ्ख्या २१ लाख ७४ हजार सात सय ९८ र प्रतिकृषक परिवार कित्ता सङ्ख्या २ दशमलव ९ देखाएको छ । यहाँ सबैभन्दा बढी तीन लाख ८४ हजार पाँच सय ५३ हेक्टरमा धानबाली र दुई लाख ४७ हजार छ सय नौ हेक्टरमा गहुँ र ३३ हजार सात सय १९ हेक्टरमा मकै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्