सोलुखुम्बु – सोलुखुम्बुको पाञ्चनमा सञ्चालित निजी क्षेत्रको लगानीमा बनेको देशकै ठूलो सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको बिजुली उत्पादन ३८ प्रतिशतले घटेको छ । साहस ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित ८६ मेगावाटको आयोजनाले हिउँद लागेसँगै पानी कम हुँदा बिजुली उत्पादन घटाएको हो ।
सोलुखोलामा पर्याप्त पानी हुँदा ९० मेगावाटसम्म बिजुली उत्पादन गरेको यो आयोजनाले अहिले घटाएर ५५÷६० मेगावाटमा झारेको कम्पनीका प्रशासन प्रमुख दिलबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार हिउँदमा पानीको सतह घट्ने भएकाले बिजुली उत्पादन नियमित ओरालो लागेको हो । पानी घट्ने भएकाले हिउँदको समयमा आयोजनाको बिजुली उत्पादन ९० मेगावाटबाट घटेर ३० मेगावाटसम्म आइपुग्ने अनुमान छ ।
एनआईएमबी बैंकको झन्डै १३ अर्ब रुपैयाँको लगानीमा छ वर्ष लगाएर निर्माण सम्पन्न गरी गएको फागुन १७ गतेदेखि यो आयोजनाले व्यावसायिक उत्पादन शुरु गरेको थियो । आयोजनामा ३० दशमलव एक मेगावाटका तीन वटा जेनेरेटर रहेका छन् । सोलुदूधकुण्ड नगरपालिका–११ मा रहेको सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र एक हजार नौ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङ दूधकोशी–३ मैकुबेसीमा खसालेर ८६ मेगावाट बिजुली उत्पादन गरिएको हो । विद्युत् गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रिड निर्माण गरी १३२ केभी प्रसारण लाइनमा जोडेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्