काठमाडाैँ । उच्च अदालत जुम्ला, महेन्द्रनगर, हेटौंडा र धनकुटासहित चारवटा इजलासमा श्रव्यदृश्यमार्फत भर्चुअल सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो कार्यकक्षबाट भर्चुअल्ली बिहीबार उक्त सुनुवाइको उद्घाटन गरेका थिए ।
यससँगै कुल ६ वटा उच्च इजलासमा अनलाइन–भिडियो बहस सुरुवात भएको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जानकारी दिए।
सर्वोच्चमा पहिलेदेखि श्रव्यदृश्यमार्फत सुनुवाइ हुँदै आएको छ। ‘यसअघि दिपायल र इलाम उच्च अदालतमा सुरुवात गरेका थियौँ। त्यहाँ जेल र अधिवक्तासँग पनि भिडियो बहस जोडिएको छ,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।
श्रेष्ठका अनुसार सुनुवाइ भइरहेको जानकारी थुनुवा वा कैदीले पनि हेर्न पाउँछन्। ‘आफ्नो कुरा आफ्नो वकिलले कसरी इजलासमा राखिरहेको छ भन्ने थुनामा रहेको व्यक्तिले पनि हेर्न पाउँछ,’ उक्त सेवाबारे जानकारी दिँदै श्रेष्ठले भने, ‘पक्राउ अनुमति, जरुरी पक्राउ पुर्जी, बकपत्र, बहस–पैरवीलगायत सात कुरा भिडियोबाटै गरिनेछ।’
यसैगरी पेसी तारेख अटोमेसन पुस पहिलो सातासम्म सबै उच्च अदालतमा लागू गराउने योजना रहेको प्रधानन्यायाधीश श्रेष्ठले जानकारी दिए। पेसी तारेख अटोमेसन अहिले सर्वोच्चमा मात्र छ।
प्रतिक्रिया दिनुहोस्