Ads

पीडितहरुको कष्टकर दैनिकी, चिसो बढेसँगै थप समस्या


जाजरकोट\ जाजरकोट भूकम्पका २२ जना पीडितहरूको चिसोले मृत्यु भएको छ । त्रिपालमुनि बस्दै आएका पिडीत मध्ये बिहीबारसम्म मात्रै चिसोले २२ जनाको मृत्यु भएको छ । बढ्दो चिसो र असुरक्षित त्रिपालमुनिको बासले वृद्ध वृद्धा, सुत्केरी र बालबच्चामा बढी समस्या देखिन थालेको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरूले जनाएका छन् । चिसो बढ्दै जाँदा दीर्घरोगीहरु थप पीडामा छन् ।

हालसम्म जाजरकोटका १९ जनाले ज्यान गुमाएका छन् । यस्तै रुकुम पश्चिमका ३ जना भूकम्प प्रभावितले पनि चिसोकै कारण ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा भेरी(२ की एक वर्षे बालिकादेखि ८८ वर्ष सम्मका वृद्ध वृद्धा हुन् ।

चिसोकै कारण २५ वर्षीया शर्मिला चदाराले एक महिने सुत्केरी अवस्थामै ज्यान गुमाइन् । भूकम्पले घर भत्काएपछि उनी त्रिपालमुनि बस्दै आएकी थिएन । गत कात्तिक १७ गतेको भूकम्पले घर बस्न योग्य नरहेपछि जाजरकोट भूकम्पका प्रभावितहरू पालमुनि बस्दै आएका छन् । अस्थायी आवास पर्याप्त मात्रामा बन्न नसक्दा भूकम्पपीडितहरूको त्रिपालमै मृत्यु हुने क्रम बढेको छ ।

 

९ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट

जाजरकोट भूकम्पबाट ९ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको ९ करोड २६ लाख ५८ हजार ९ सय रुपैयाँबराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट ९ हजार ७ सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६।४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५ सय १ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यन्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार ७२५ किलो धान, मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

यसैगरी, जाजरकोट भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार १७२ रुपैयाँबराबरका पशुपक्षीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार ५६७ मानिस प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू