Ads

बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीको निर्देशन


विराटनगर । खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयका सचिवहरुसँग सोमबार छलफल गरेका हुन् । “अब बजेट कायान्वयनमा ढिलासुस्ती गर्न कुनै पनि बाहना छैन् । बजेट कार्यान्वयन गर्न के के कुराले रोक्छ ऐन कार्यविधि नियमावली जे बाधक बनेका छन् ती सबै संशोधन गर्न नयाँ बनाउन परे सरकार तयार छ,” कार्कीले भने । जनताको काम गर्न अलमल गर्ने छुट कसैलाई नभएको भन्दै कार्कीले वातावरणमैत्री र मानवीय विकास प्रदेश सरकारको प्राथमिकता भएको बताए ।

उनले भने,“सेवाग्राहीलाई सम्मान गर्दै मानवीय विकासमा जोड दिनुपरेको छ । खर्च गर्ने क्षमता बढाएर सुशासन कायम गर्दै अगाडिका चुनौतीहरूलाई समाधान गर्नु पर्दछ ।” सेवा प्रवाहलाई छिटो, छरितो र गुणस्तरीय बनाउन आवश्यक सुधार गर्ने, जनसेवा, नागरिक अधिकारको रक्षा र सुशासन कायम गर्ने, निकायगत समन्वय कायम गरी कामलाई गति दिने नीति सरकारको भएको सुनाए ।

राजनीति र प्रशासनबीच विश्वासको वातावरण निर्माण गरी शासन, विकास र सेवा प्रवाह गरिनुपर्ने कार्कीको जोड थियो । “कार्यान्वयन गर्ने निकायमा कुनै पनि राजनीतिक दबाव, प्रभाव आए त्यसको जिम्मेवारी म लिन्छु ।” बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने कानून, कार्यविधि, निर्देशिका निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भए पहिचान गरी मन्त्री तथा मुख्यमन्त्री समक्ष पेश गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।

 

Ads

सम्बन्धित पोष्टहरू