Ads

१३ दिनमा ४ जनाको मृत्यु, घर र बालिनालीमा लगातार नोक्सानी


दमक\ विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भएको छ । गत मंसिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्लमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मंसिर १३ गते राती सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट वस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको १९, २०, २ र ३ नम्बर वडामा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मंसिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो ।

मंसिर १८ अर्थात् सोमबार बिहान मात्रै मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ ३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिंड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । सर्वसाधरणको ज्यान लिइरहेको छ । घर भत्काइ रहेको छ । बालीनाली सखाप पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

भारतहुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रका जङ्गल क्षेत्रमा हात्तीहरु आउने गरेका छन् । ‘प्रत्येक वर्ष हात्तीहरु आउँछन् । गत वर्ष पनि हात्तीको आक्रमणबाट बेलबारी क्षेत्रमा दुई जना सर्वसाधरण मारिएका थिए,’ दाहालले भने ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन छ ।

साउनदेखि अहिलेसम्म जंगली हात्तीले मिक्लाजुङमा मात्रै ११ जनाको घर भत्काएर पाँच सय बिघा भन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको सो गाउँपालिकाको तथ्यांक छ । पालिकाले तीन महिनामा स्थानीयलाई ८ लाख बराबरको क्षतिपूर्ति तिरिसकेको छ ।

मिक्लाजुङ ६ को कसेनी, खामेझोडा, कतले र बेतनी, वडा ७ को मावाडाँगी र वडा ८ को मावा तोरीबारीका स्थानीयका लागि तीन महिनायता हरेक रात जंगली हात्ती लखेट्नु दैनिकी बनेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वार्डेन रमेशकुमार यादवका अनुसार हात्ती वर्षेनी दुईवटा मौसम (कात्तिक–मंसिर र जेठ–असार)मा आउँछ । हात्तीबाट मानिसको मृत्यु हुनुमा मावनीय कमजोरी नै प्रमुख रहेको उनको भनाइ छ ।

अहिले झापा, मोरङ र सुनसरीमा विभिन्न समूहमा हात्ती छन् । पूर्वी नेपालमा ५० भन्दा बढीका तीनवटासम्म समूहमा हात्ती रहेको उनको अनुमान छ ।

Ads

सम्बन्धित पोष्टहरू