Ads

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीको परिवार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले प्यालेस्टाइनी समूह हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका आमाबुबासँग भेट गरेका छन् । प्रधानमन्त्री दाहालले  शुक्रबार बिहान धनगढी विमास्थलमा विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीलाई भेटेर विपिनको रिहाइको लागि सक्दो पहल गरिरहेको जानकारी दिए ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि सुरु हुन लागेको सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल धनगढी पुगेका हुन् । सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाइको लागि सरकारले पहल जारी राखेको बताएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी  ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यहाँ पुगेका थिए । गत असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई हमासले नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरिसकेको छ । यद्यपि, उनको कुनै खबर प्राप्त हुन सकेको छैन ।

Ads

सम्बन्धित पोष्टहरू