Ads

किसानले पाएनन २२ करोड रुपैयाँ


चितवन\ यहाँका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको रु २२ करोड रकम पाउन सकेका छैनन् । एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन् ।

असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए । उनले भने, “दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दूध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ ।” हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ ।

दुग्ध विकास बोर्डबाट यहाँका किसानले रु ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगले रु दुई करोड र अन्य निजी डेरी कम्पनीको गरेर रु २२ करोड रकम बाँकी रहेको छ । यहाँ दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको बगालेले बताए ।

यहाँ उत्पादित दूधमध्ये एक लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ । अन्य दूध जिल्लामै खपत हुने गरेको छ ।  अघिल्ला वर्षको तुलनामा यस वर्ष यो समयमा कम दूध बिक्री भएको उनी बताउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू