काठमाडौं । जम्सिद जद्रानको शतकप्रेरित अफगानिस्तानले एसीसी यू–१९ एसिया कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तान टोलीले निर्धारित ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनायो ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नैपर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि, पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’मा नेपालबाहेक बाँकी तीनै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ ।
गएको अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा ठाउँ बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेको थियो ।
प्रतिक्रिया दिनुहोस्