चितवन । भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ ।
ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । ती विद्यालयलाई रु. १६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिए ।
महानगरपालिका प्रमुख रेनु दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ठूलो लगानी गर्दै आएको बताइन। उनले विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेको बताइन । उनले भनिन्, “हामीले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल देखिन थालेको छ, यसको प्रतिफलस्वरुप सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या निकै बढेको छ ।” विद्यालयसम्म विद्यार्थीलाई सहज आवतजावतका लागि बस उपलब्ध गराउने नीति महानगरले लिएको उनको भनाइ छ ।
उपप्रमुख पार्वती शाहले यातायातको अभावमा कोही पनि शिक्षाबाट वञ्चित नहोस् भन्नका लागि महानगरले बस उपलब्ध गराउँदै आएको बताइन । उनले आवश्यकता अनुसार थप विद्यालयलाई बस उपलब्ध गराइँदै जाने बताइन ।
प्रतिक्रिया दिनुहोस्