काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना गर्ने निर्णय गरेको छ । साेमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको संसदीय दलको बैठकमा दलको विधानमा पुनः संरचना गर्ने विषयमा छलफल भएको सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
“हामीले यसअघि नै संसदीय दलको विधानको मस्यौदा तयार गरेका थियाैँ । जलेश्वरको बैठकपछि त्यसलाई फेरि पुनः संरचना गर्नुपर्ने भएर विधानसम्बन्धी छलफल गर्याैँ”, उनले भने । बैठकमा आगामी अधिवेशनमा संसद् र संसदीय समितिलाई सक्रिय बनाउने विषयमा छलफल भएको उनले बताए । उनका अनुसार सांसदले आफ्नो क्षेत्रगत समस्या संसदको शून्य समयमा र राष्ट्रिय मुद्दा विशेष समयमा प्रस्तुत गर्ने विषयमा छलफल भएको छ ।
सचेतक निशा डाँगीले जनताका मुद्दा र सार्वजनिक महत्वका विषयमा उठाएको मुद्दाको सम्बोधन र समाधानका विषयमा पार्टी कहाँ चुक्यो भन्नेमा छलफल भएको जानकारी दिइन् । “हामीले विगतमा जे जति मुद्दा उठायाैँ, त्यसलाई टुङ्गोमा पुर्याउन बिर्सिएको होकि भन्ने विषय आजको बैठकमा छलफल भयो”, उनले भनिन् “ विगतमा हामी कहिँकतै चुकेको भए आगामी दिनमा कस्ता मुद्दा उठाउने र त्यसलाई कसरी निरन्तरता दिने विषयमा पनि छलफल केन्द्रित भयो ।”
प्रतिक्रिया दिनुहोस्