Ads

जाडो बढेसँगै मनाङको तापक्रम माइनस १६ डिग्रीमा झर्याे, बेँसी झर्न थाले स्थानीय


मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरुपमा घट्दै गएको छ । मङ्सिरको अन्तिम हप्ता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियसमा झरेको छ । बिहानीपखको तापक्रम माइनस ८ देखि १० को हाराहारीमा भए पनि रातिमा झन्डै माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताइन् । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको पनि प्रजिअ लामिछानेले जानकारी दिए ।

चामे गाउँपालिकाले सूचना निकालेर विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।

पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजन्य काम ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौँ ।’ पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका धेरैजसो स्थानीय जाडो छल्न जिल्ला बाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडाैं, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।

चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका २ वटा प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकाममा रहेको चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रम जारी रहेको उनले जानकारी दिए । माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्णरूपमा बन्द नभएको भुजेलले जानकारी दिए ।

पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए । मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउँछन् । आफूहरू घर कुर्ने र चौँरी हेर्न घरमै बसेको उनले बताए ।

‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायालाई हिउँमै छाड्नु पर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहुँदैनौँ’, उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक चौँरी ल्याइन्छ । नावर पनि चौँरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नु पर्ने हुन्छ ।’

यहाँ फागुनको पहिलो हप्तादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यस बेला बेँसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । अहिले जिल्लाभर ४ हजार ३ सय ९७ चौँरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् ।

Ads

सम्बन्धित पोष्टहरू