दमक\ झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । २ दिनको बृहत स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो ।
कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ ।
क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताएका छन् । शिविरमा आएका विरामीहरुको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेस शाह, डा.मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गर्नु भएको कविराज बेदप्रकाश शर्माले जानकारी दिए ।
अस्पतालको स्तरउन्नती सहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरिएको पनि अस्पतिालका निमित्त निर्देशक डा.ठाकुरले जनाए । ५० बेड क्षमताको अस्पतालमा ईमरजेन्सि लगायतका सेवा समेत शुरु गर्न लागिएको छ । पञ्चकर्म, भिडियो एक्स रे, ल्याव सेवा शुरु गरेपछि विरामीको चाँप समेत बढेको बताईएको छ । सरकारले तोकेका औषधिहरु विरामीले निशुल्क पाउदै आएकाछन् ।
प्रतिक्रिया दिनुहोस्