Ads

सघन अनुगमन शुरु, नगरप्रहरी परिचालित


काठमाडौं \ सुर्तीजन्य पदार्थको विक्रिमा रोक  लगाएको काठमाडौं महानगरपालिकाले निर्णय कार्यान्वयनका लागि कडाईकासाथ अनुगमन शुरु गरेको छ । महानगरभित्र प्लास्टिकमा प्याकिङ गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाए पछि त्यसको कार्यान्वयनका लागि नगरप्रहरी परिचालित भएका छन् । यस क्रममा पहिलो दिनमै महानगरले पाँच बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

काठमाडौं महानगरपालिका प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशीले बिहीबार पाँच बोरा सुर्तीजन्य पदार्थ जफत गरिएको जानकारी दिए । उनले सार्वजनिक स्थलमा धूमपान गर्नेहरुलाई पहिलो दिन सम्झाई बुझाई मात्र गरिएको बताएका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान गर्नेलाई समेत एक सय रुपैयाँ जरिवाना गरिने जनाएको छ ।

काठमाडौं महानगरपालिकाले पाँच क्षेत्रमा १०\१० जना नगर प्रहरीको टोली परिचालन गरी सुर्तीजन्य पदार्थ बिक्री वितरण भएका स्थानमा अनुगमन गरी जफत गरेको हो । अनुगमनमा गएका नगर प्रहरीले सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्नसमेत सचेत गराएका छन् । अनुगमनका क्रममा धेरैजसो पसलमा सुर्तीजन्य पदार्थ नभेटिएको नगर प्रहरी नवराज अधिकारीले जानकारी दिए । नगर प्रहरीले मुख्य सडक क्षेत्रभन्दा भित्री बस्तीमा अनुगमन बढाएको हो ।

काठमाडौं महानगरपालिकाले मंसिर १२ गते सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ बिक्रीवितरण र भण्डारण नगर्न १५ दिने अल्टिमेटम दिएको थियो । सोहीअनुरुप महानगरले हिजो ९बुधबार० देखि सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण रुपमा रोक लगाएको हो । बेचेको थाहा पाए पसल बन्द गराउनेसम्मको चेतावनी महानगरपालिकाले दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू