विराटनगर । जिल्ला कारागार मोरङमा थुनामा रहेका बन्दी केशरबहादुर भुजेलको मृत्यु भएको विषयमा छानाबिन गर्न समिति बनाइएको छ । कारागारमा रहस्यमय मृत्यु भएको भन्दै परिवारले शव नबुझेपछि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।
समितिमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ(४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् । उक्त समितिलाई छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।
लागुऔषधसम्बन्धी मुद्दामा पुर्पक्षमा थुनामा रहेका लेटाङ(४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो । भुजेलको मृत्युको घटना शंकास्पद रहेको भन्दै आफन्तहरू पोष्टमार्टम नगर्ने र घटनाको छानबिन हुनुपर्ने अडानमा छन् ।
भुजेललाई जेलभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको उनीहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्