काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तर्गत आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ५ बजे हुने तालिका छ ।
यसअघि बिहीबारकाे खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्क तालिकाको शीर्षस्थानमा उक्लेको छ । दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
धनगढीको जितमा आफिज ओलावालेले गोल गरे । उनले खेलकाे सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो । उनले रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा चितवनका विमल घर्तिमगरको पेनाल्टीलाई धनगढीका गोलकिपरले विफल पारेका थिए ।
जितसँगै धनगढीले खेलेका पाँच खेलमध्ये तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ । त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ । चितवन अङ्क तालिकाको सातौँ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्