काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुगेका छन् ।
समितिले सरकारमाथि उठेका प्रश्नहरूबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाएको हो । बैठकमा एनसेल खरिद विक्री प्रकरण, सरकारले दिने सुशासनको अवस्था र सङ्घीय निजामती ऐन लगायत समसामयिक विषयमा छलफल भएको छ ।
बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई विभिन्न प्रश्न सोधेका छन् । एनसेल प्रकरणमा प्रधानमन्त्रीकै परिवारको संलग्नतासम्बन्धी आरोपका विषयमा पनि प्रश्न गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई समितिका सदस्यले सोधेका प्रश्न–
अजय चौरसिया
– खरिद–बिक्रीमा ठूलो अन्तर छ । धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ । छानबिन होस् ।
अम्बिका बस्नेत
– सुशासन कायम गरेर आर्थिक समृद्धितर्फ बढ्नुपर्ने अवस्थामा एकपछि अर्को काण्ड छ । नेताको परिवारसँग जोडिन्छ । यसमा कति सत्य होला ?
ईश्वरी न्यौपाने
– प्रम हुनेबित्तिकै सुशासन मेरो प्रतिबद्धता भन्नुभयो, एक वर्षमा यति धेरै काण्ड भए । कतिपय विषय र काण्ड टुंगो नलाग्दै अर्को आउँछ । अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा भयो, अन्य देशले देख्दा के भन्छ ?
– प्रमको परिवार यसमा जोडिनुभएको छ भन्ने छ, के हो यो ? वास्तविकता के हो देख्न पाइयोस् ।
– समितिले ढाकछोप गर्छन् कि भन्ने छ ? कसरी स्वीकृति नलिई बिक्री भयो ?
कृष्णगोपालश्रेष्ठ
– चार समिति जोडिएको छ । चार समितिको चार कुरा आए के हुन्छ ? यसमा लेखा, अर्थ, हाम्रो (राज्यव्यवस्था तथा सुशासन समिति) र शिक्षा समिति जोडिएको छ, यसमा ध्यान दिनुपर्छ ।
–यसमा प्रमको परिवार र प्रमलाई जोडिदिएको छ, के हो ? अबको पाँच वर्षपछि सरकारी हुने भनिएको छ, यो सरकारको स्वामित्वमा आउँछ कि आउँदैन ? ठ्याक्कै जवाफ चाहियो । यो सिस्टममाथिकै प्रहार हैन र ?
चन्दा भण्डारी
– एनसेलले पैसा नखाई राजनीतिक दल, कर्मचारीलाई काम हुँदैन भनेको सत्य हो ? किन बेलैमा आजियाटालाई रोक्न किन नसकेको ?
– डा. अमरेश सिंहले भनेजस्तै छोरी गंगा दाहाल, शेरबहादुर देउवालगायत संलग्न भएको आरोप लाग्दा किन चुप लागेको ? खै खण्डन ? के छ यसमा ? अमरेश गलत भए किन कारबाही नगरेको ?
प्रतिक्रिया दिनुहोस्