Ads

एक महिनामा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु, कतै रातभर जाग्राम


झापा । एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो ।

वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ । बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उहाँलाई हात्तीले कुल्चेर मारेको हो । यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका– ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए ।

त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् ।

डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।

रात भर जाग्राम
बेदकोट । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् । हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको बागफाँटाको बैजनाथ टोलमा एक सातादेखि जङ्गली हात्तीले आतङ्क मच्चाइरहेको छ ।

निकुञ्जबाट आउने हात्तीको बथानबाट खेत र घरभित्रको खाद्यान्न जोगाउन स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । “राति पर्नेबित्तिकै हात्ती आइहाल्छन् । घर र खेतको बालीनाली जोगाउनै हम्मेहम्मे पर्छ”, स्थानीय लक्ष्मी महराले भनिन्, “गहुँका बोट साना छन् । त्यसैले खान नसक्दा हात्ती सिधैँ घर भएतिर आउन खोज्छन् ।”  होहल्लाका साथै पटाका पड्काएर हात्ती धपाउने गरेको उनले बताइन् ।

एक सातादेखि निरन्तर हात्तीको बथान आउन थालेकाले राम्ररी सुत्न नपाइएको उनको भनाइ छ । “आगो बालेर चिसोमा खेतमै रात काट्छौँ । दश–बीसको सङ्ख्यामा हात्ती आउँछन्”, उनले भनिन्, “निकुञ्जबाट हात्ती सुरुमा यहाँ पस्छन् । त्यसपछि खानेकुरा केही नपाएपछि अन्यत्र जान्छन् ।”

Ads

सम्बन्धित पोष्टहरू