काठमाडौँ । विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जाल (युट्युब)बाट एक अभिनेता र एक गायिकाका विषयमा सम्प्रेषण भएको सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको बताएको छ ।
काउन्सिलले आज(शुक्रबार) एक विज्ञप्ति जारी गर्दै आचारसंहिता विपरित सामग्री सम्प्रेषण गर्ने २२ वटा अनलाइन मिडियालाई सचेत गराइएको र दर्ता तथा सूचीकरण नभएका १० वटा वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नपाउने व्यवस्था गर्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार समेत भएको जानकारी गराएको छ ।
त्यस्तै १६ वटा युट्युब च्यानललाई समेत अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरी साइबर ब्युरोमा सिफारिस गरिएको विज्ञप्तीमा उल्लेख छ ।
“अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेका छन् ।” जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्प्रेषण भएको सामग्रीहरूको अध्ययन गर्दा पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्