काठमाडौ\ लम्पी स्किन सङ्क्रमणका कारण नोक्सानी व्यहोरेका किसानले अझै राहत पाउन सकेका छैनन् । संक्रमणका कारण कतिपय किसानका गोठ र थलोनै रित्तिए पनि ६५ हजार ४४१ परिवार सरकारी राहत कुरेर बसेका छन् । चालु आर्थिक वर्ष २०८०\८१ मा मात्रै मुलुकभरका १५ लाख ३६ हजार १८० पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण हुँदा ६५ हजार ४४१ वटा पशु मरेका थिए । असारदेखि असोजसम्म उच्च बिन्दुमा पुगेको फैलावटको दर क्रमिक रूपमा घट्दै अहिले शून्य अवस्थामा पुगे पनि पीडित किसानले भने राहतको आशा नै मारेका छन् ।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले समयमै किसानलाई क्षतिपूर्ति दिलाउन नसकेको बताएका छन् । उनले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भए पनि रकम निकासा हुन नसकेको जनाए ।
झिँगा, लामखुट्टे र भुसुनाको टोकाइले सङ्क्रमित पशुबाट स्वस्थ पशुमा सर्ने ‘लम्पी स्किन’ को सङ्क्रमण चिसो बढेसँगै शून्यको अवस्थामा झरेको छ तर जोखिम कायमै रहेकाले यो वर्षको क्षतिपूर्ति र आगामी वर्षमा हुने जोखिम न्यूनीकरणसम्बन्धी योजना तयार थाल्न आवश्यक बजेट व्यवस्थापन सरकारले गरिदिनुपर्ने उनको धारणा छ ।
सङ्क्रमण भएर निको भएका पशुको घाउको खत रहेको र दुध उत्पादनमा कमी भए पनि पछिल्लो समय थप पशु सङ्क्रमित भएको रिपोर्टिङ भएको छैन । विभागका प्रवक्ता डा. चन्द्र ढकालले सङ्क्रमण बढेको जानकारी प्राप्त नभएको तर सङ्क्रमित पशु क्रमिक रूपमा निको भएको जानकारी प्राप्त भएको बताए ।
चालु आर्थिक वर्ष ‘लम्पी स्किन’ कै कारण किसानले ७५ अर्ब ५२ करोड ८२ लाख रुपियाँ बराबरको क्षति व्यहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ्य पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । सोही आधारमा कृषि मन्त्रालयले किसानलाई क्षतिपूर्तिका लागि आवश्यक विवरण कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ ।
कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेलले क्षतिपूर्ति दिने प्रक्रिया अर्थ मन्त्रालयमा रोकिएपछि किसानलाई उपलब्ध गराउने विषय नै रोकिएको जनाए । उनले कृषिमन्त्रीले पटक पटक ध्यानाकर्षण गराउँदा पनि अर्थ मन्त्रालयबाट रकम निकासा हुन नसकेको बताएका छन् ।
सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशुधनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले व्यहोरेका हुन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै नपार्ने तर किसानलाई क्षतिपूर्ति समयमै दिलाउन नसकेको विभागका प्रवक्ता ढकालले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्