काठमाडौं । आरती साह मृत्यु प्रकरणमा फरार रहेका उनका श्रीमान मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन होटेलबाट उनलाई पक्राउ गरेको धनुषा प्रहरीले जानकारी दिएकाे हाे ।
सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान् मोतीबाबुलाई गत मंसिर २० गते थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले साहलाई थुनामा पठाउने आदेश दिएसँगै उनी फरार भएका थिए ।
यस्तै आरती साहका ससुरासँग १ लाख रूपैयाँ धरौटी माग गरिएको थियो । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरू दुवैजना थुनाबाहिर थिए ।
गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका- ९ थापा चोकमा आरती मृत फेला परेकी थिइन्। माइती पक्षले आरतीको हत्या श्रीमान र ससुराले दाइजोको निहुँमा गरेको आरोप लगाएर मुद्दा दर्ता गरेको थियो।
यता, आरती साहको परिवार न्यायको माग गर्दै माइतीघर मण्डलामा धर्नामा बसेको छ ।
प्रतिक्रिया दिनुहोस्