Ads

तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र शुरु


भोजपुर\ भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्याङ–अधेँरीघाट सडक कालोपत्र शुरु भएको छ । तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्रको गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् ।

तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडक मध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।

तिवारीभञ्याङको शुन्य विन्दुबाट वडा नं २ को स्वास्थ्य चौकीसम्म एक प्याकेज र स्वास्थ्य चौकीबाट गाउँपालिका केन्द्रसम्म दोश्रो प्याकेजमा काम भईरहेको उनले बताए । पहिलो प्याकेजको सडक डिभिजन कार्यालय तुलिम्टारको भ्याटसहित रु। एक करोड र दोश्रो प्याकेजको भ्याटसहित चार करोड दुई लाख लागत रहेको प्रशासकीय अधिकृत भट्टराईको भनाइ छ ।

यो सडक संघिय समपुरक अनुदान, प्रदेश समपुरक अनुदान र गाउँपालिकाको लागत साझेदारीमा कालोपत्र गर्न लागिएको हो । पहिलो चरणमा एक हजार तीन सय मिटर कालोपत्र गरिनेछ । सडक कालोपत्र सम्पन्नको अन्तिम अवधि २०८१ साल असार २० गते सम्म रहेको छ । पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गरिने भएपनि आफ्नो कार्यकाल भित्र ३१ किलोमिटर सडक नै कालोपत्र गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

सडक नालीसहित ८ मिटरको हुने निर्माण कम्पनी एवाई आनन्न जेभी धनकुटाले जनाएको छ । प्रिमिक्स प्राविधिबाट यो सडकको कालोपत्र हुने जनाइएको छ । तोकिएको मापदण्ड अनुसार सडकलाई समयमा सम्पन्न गराउने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

सडक कालोपत्र भएपश्चात यहाँको जनताको जनजीवन परिवर्तन आउने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् ।

यसै गरि गाउँपालिकाको प्रशासनिक भवनको पनि शिलान्यास गरिएको छ । प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरि सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा छ करोड ८८ खाल लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणमा ४० प्रतिशत अर्थात रु. दुई करोड ७५ लाख गाउँपालिकाको लागत साझेदारी रहेको छ । भवन निर्माणको जिम्मा आवरण मेटल इन्जिनियरिङ कन्ट्रक्सन प्रा।लि। भरतपुर चिवतनले लिएको छ ।

तीन तले प्रशासनिक भवनमा सभाहलसहित २२ ओटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ ओटा सटर रहने गाउँपालिकाका इन्जिनियर सोभित घिमिरले बताए । यसले गाउँपालिकाको आन्तरिक श्रोतमासमेत बृद्धि हुने उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू